काठमाडौंमा किराँत समुदायद्वारा उँभौली पर्व उल्लासपूर्वक मनाइयो
काठमाडौं - किराँत समुदायले सोमबार राजधानी काठमाडौंमा उँभौली पर्व हर्षोल्लासका साथ मनाएका छन्। अन्नबाली सप्रियोस्, राम्रो फलोस्, र संसारभर खाद्यान्नको अभाव नहोस् भन्ने कामनासहित प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन यो पर्व मनाइन्छ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने किराँत समुदायले गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोल सामुदायिक वनमा विशेष कार्यक्रम गरी उँभौली पर्व मनाएका हुन्।
उँभौली पर्वलाई बाली रोप्ने पर्वको रूपमा लिइन्छ भने उँधौली पर्वलाई बाली भित्र्याउने पर्व मानिन्छ। किराँत धार्मिक विश्वासअनुसार, उँभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिको रक्षा गर्ने विश्वास गरिन्छ।
यो पर्व वैशाख पूर्णिमादेखि सुरु भई एक महिनासम्म विभिन्न सांस्कृतिक गतिविधिसहित मनाइन्छ। उँभौलीको दिन चण्डी नाच गरिने परम्पराअनुसार यस दिनलाई चण्डी पूर्णिमाका रूपमा पनि चिनिन्छ। चण्डी पूर्णिमा सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको विशेष दिनका रूपमा मानिन्छ।

Post a Comment
0 Comments