फरार सूचीमा रहेका एमाले सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा मञ्चमै
मोरङ - १० महिनादेखि प्रहरीको फरार सूचीमा रहेका लुम्बिनी प्रदेशका एमाले सांसद विष्णु पन्थी सोमबार प्रधानमन्त्रीको सहभागिता हुने कार्यक्रममा मञ्चमै अतिथिको रूपमा उपस्थित भए। सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि उनी प्रधानमन्त्री आउनुअघि नै कार्यक्रमस्थलबाट लुसुक्क बाहिरिए।
पन्थीमाथि व्यापारीसँग सामान लिएर पैसा नतिरेको आरोपमा मोरङ जिल्ला अदालतले १० महिना अघि पक्राउ पुर्जी जारी गरेको थियो। तर, उनी हालसम्म पक्राउ परेका छैनन्। विराटनगरको एक कम्पनीमार्फत पाल्पाको हाइड्रोपावरका लागि सामान लिएको पैसा नतिरेपछि अदालतबाट पक्राउ आदेश जारी गरिएको हो। मोरङ, काठमाडौँ, टेकु र रुपन्देही प्रहरी कार्यालयहरूलाई पत्र पठाइए पनि प्रहरीले फेला नपरेको बताउँदै आएको छ।
प्रधानमन्त्रीकै प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको मञ्चमा पन्थी देखिएपछि प्रहरी मौन बस्दा सवाल उठेको छ। पन्थी कपिलवस्तु १ (क) बाट निर्वाचित सांसद हुन्। उनले भने आफूलाई पुर्जीबारे जानकारी नदिइएको र नियोजित रूपमा बदनाम गर्न खोजिएको आरोप लगाए। रुपन्देही प्रहरी प्रमुखले भने आफू हालै मात्र आएको र पुर्जीबारे अनुसन्धान सुरु भएको जनाएका छन्।

Post a Comment
0 Comments